अनुमान गरिएजस्तो ठूलो बाढीको जोखिम छैन, साना नदीमा भने सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले अनुमान गरिएजस्तो ठूलो बाढीको जोखिम नरहेको जनाएको छ। शनिबार जारी विशेष मौसमी बुलेटिनअनुसार हालको वर्षाको अवस्था विश्लेषण गर्दा ठूलो बाढीको सम्भावना नदेखिएको विभागले जनाएको हो।
यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले यसअघि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो।
सोही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई उच्च जोखिममा राखेर विशेष बुलेटिन जारी गरिएको थियो।
विभागका बाढीविद् सौहार्द जोशीले अति भारी वर्षाको अनुमान गरिए पनि वर्षा छरिएर भएका कारण ठूलो बाढीको अवस्था नआएको बताए।
उनका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं उपत्यका, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँलगायत विभिन्न जिल्लाका साना नदीमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सम्भावित विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।