प्रचण्ड स्वदेश फर्किए, प्रदेश सरकारबारे गगनसँग छलफल हुने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने श्रीलङ्का भ्रमण सकेर स्वदेश फर्किएका छन्।
प्रचण्ड आइतबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। स्वदेश फर्किएलगत्तै प्रदेश सरकारको आगामी समीकरणबारे नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल हुने भएको छ।
प्रचण्ड र थापाबीच गत मंगलबार प्रचण्ड श्रीलङ्का प्रस्थान गर्नुअघि भेटवार्ता भएको थियो। उक्त भेट सकारात्मक रहे पनि निष्कर्षमा नपुगेकाले उनीहरूबीच पुनः छलफलको तयारी भएको जनाइएको छ।
प्रदेश सरकारमा कांग्रेसले एमालेसँगको सहकार्य अघि नबढाउने निर्णयतर्फ अघि बढेपछि कांग्रेस र नेकपाबीच सहकार्यको सम्भावना बढेको छ। केन्द्रबाट हुने निर्णयको प्रतीक्षामा प्रदेशका नेताहरू रहेका छन्।
कांग्रेस महामन्त्री गुरू घिमिरेले सभापति थापा र संयोजक प्रचण्डबीच छिट्टै भेटवार्ता हुनसक्ने बताए। उनले एमालेसँगको सहकार्य तोड्ने विषयमा छलफल भइरहेको र औपचारिक निर्णय हुन बाँकी रहेको जानकारी दिए।
यसअघि सभापति थापाले सार्वजनिक कार्यक्रममा प्रदेशमा कांग्रेस, नेकपा र एमालेबीचको तीन दलीय गठबन्धन अघि नबढ्ने स्पष्ट पारेका थिए।
प्रचण्ड निकट प्रतिनिधिसभा सदस्य रमेश मल्लले कांग्रेस–एमाले गठबन्धनमा देखिएको विवादपछि नेकपाले अभिभावकीय भूमिका खेलिरहेको टिप्पणी गरे। उनले आफूहरू तत्काल प्रदेश सरकारमा जान हतारमा नरहे पनि राजनीतिक परिस्थितिले जिम्मेवारी लिनुपर्ने अवस्था आउन सक्ने बताए।