इरानद्वारा अमेरिकी सैन्य अड्डालाई लक्षित मिसाइल प्रहार, मध्यपूर्वमा तनाव बढ्यो
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता भइरहेका बेला भएको घटनाले क्षेत्रीय तनाव थप बढाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी फौजलाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। अमेरिकी पक्षले सबै मिसाइल अवरोध गरिएको र सेना उच्च सतर्क अवस्थामा रहेको जनाएको छ।
आईआरजीसीले भने जोर्डनस्थित अमेरिकी सैन्य अड्डा र सेन्ट्रल कमाण्ड केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको दाबी गर्दै अमेरिकाले इरानविरुद्ध गतिविधि जारी राखे प्रतिरोध जारी रहने चेतावनी दिएको छ।
यस घटनाले अमेरिका–इरानबीच सम्भावित वार्ताको वातावरणमा असर पर्न सक्ने देखिएको छ। यसैबीच, हर्मुज जलडमरूमध्यमा पनि तनाव कायम रहेको छ, जहाँ इरानले केही तेल ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ।