कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले गरे पदभार ग्रहण
कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ पश्चात् उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यस क्रममा उनले प्रदेश सरकारका विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाहरूको ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गरिने निर्णय गरेका छन् ।
यस्तै, शासकीय सुधारको नयाँ तथा नवप्रवर्तनीय औजारको माध्यमबाट सेवा प्रवाहमा सुधार सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने र सबै प्रकारका विपद्हरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्घ र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका कार्यहरूलाई जोड दिने निर्णय गरेका छन्।