इराकमा अमेरिका–साउदी हवाई हमला, क्षेत्रीय तनाव बढ्यो
अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित सशस्त्र समूहलाई लक्षित गर्दै हवाई हमला गरेको जनाइएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार पूर्वी इराकका विभिन्न हतियार भण्डारण स्थलमा ती हमला भएका हुन्।
साउदी रक्षा मन्त्रालयले हालै आफ्ना तेल पूर्वाधारमा भएका ड्रोन आक्रमणको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ। साउदीले ती ड्रोन इराकबाट प्रहार गरिएको र इरानसम्बन्धी समूहको संलग्नता रहेको दाबी गरेको छ। तर ‘इस्लामिक रेसिस्टेन्स इन इराक’ले भने आरोप अस्वीकार गर्दै आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले पछिल्ला ७२ घण्टामा भएका ड्रोन हमलाको जवाफमा इराकका विभिन्न स्थानमा कारबाही गरिएको बताएको छ। त्यसपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ, जसलाई अमेरिकी सेनाले विफल पारेको दाबी गरेको छ।
घटनापछि अमेरिका र इरानबीच केही दिनदेखि कायम रहेको तनावपूर्ण शान्ति अवस्था अन्त्य भएको छ। होर्मुज जलमार्गको सुरक्षालाई लिएर बढेको विवादका बीच पुनः सैन्य तनाव चर्किने जोखिम बढेको छ।