संघीय संसदमा पेश गर्न ९ विधेयकलाई मन्त्रिपरिषद्को स्वीकृति
मन्त्रिपरिषद्ले विभिन्न ९ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको हो।
यस्तै, बैठकले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै यी सबै विधेयक अब आवश्यक संसदीय प्रक्रियाका लागि संघीय संसदमा दर्ता तथा पेश गरिनेछन्।