भरतपुर अस्पताल एमएसएस मूल्याङ्कनमा देशकै उत्कृष्ट संघीय अस्पताल
भरतपुर, असार १५ — भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा देशका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
मूल्याङ्कनअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्। पाटन अस्पतालको मूल्याङ्कन भने जारी रहेको मन्त्रालयले जनाएको छ।
गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ संघीय अस्पतालको सेवा प्रवाह मूल्याङ्कन गर्दा भरतपुर अस्पताल सबैभन्दा उत्कृष्ट देखिएको हो। मन्त्रालयले सेवा गुणस्तर मापनका लागि १ हजार ४९७ सूचकका आधारमा अस्पतालहरूको परीक्षण गरेको जनाएको छ। गत आर्थिक वर्षमा पनि भरतपुर अस्पताल ८८ अंकसहित उत्कृष्ट बनेको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले यस आर्थिक वर्षमा सेवा प्रवाह, उपकरण व्यवस्थापन, सरसफाइ, औषधि उपलब्धता, जनशक्ति व्यवस्थापन तथा कार्यतालिका सुधार गरिएकाले अंकमा समेत वृद्धि भएको बताए।
६०० शय्याको भरतपुर अस्पतालमा दैनिक २,५०० देखि ३,००० बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले हाल १४ वटा अतिविशिष्ट स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि बीमामार्फत उपचार गराउने बिरामीको चाप पनि अस्पतालमा बढेको छ।
यद्यपि, सेवा गुणस्तरमा सुधार भए पनि अत्यधिक बिरामीको चाप र सीमित स्रोत–साधनका कारण सबै बिरामीको अपेक्षाअनुसार सेवा दिन अझै चुनौती रहेको डा. बगालेले बताए।