नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोबार साढे ३ अर्ब नजिक
काठमाडौं — धितोपत्र बजारको प्रमुख परिसूचक नेप्से आज झिनो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २ अंकले घटेर २,६४९.५१ विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५५ अंकले घटेर ४५७.६८ विन्दुमा कायम भएको छ।
आज कुल ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता शेयर तीन अर्ब ९४ करोड ५८ लाख रुपैयाँभन्दा बढी मूल्यमा खरिद–बिक्री भएका छन्।
कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। साथै ग्लोबल आइएमई बैंकको डिबेञ्चर २०८४/८५, नेपाल बैंकको डिबेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल पनि उच्च कारोबारमा रहेका छन्।
आजको कारोबारमा स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिबेञ्चर २०८९/९० र एनएमबी डिबेञ्चर २०९० का लगानीकर्ताले लाभ कमाएका छन्।
त्यस्तै, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआइसी एशिया ऋणपत्र २०८०, सोपान फर्मास्युटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।