कञ्चनपुरमा खेलकुद पूर्वाधार विस्तारका लागि करोडौँ बजेट विनियोजन
महेन्द्रनगर, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कञ्चनपुर जिल्लाको खेलकुद पूर्वाधार विकास तथा विस्तारमा विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ। मिनी स्टेडियम निर्माण, फुटसल स्टेडियम, खेलमैदान स्तरोन्नति, व्यायामशाला तथा इन्डोर क्रिकेट हल निर्माणलगायतका योजनाका लागि बजेट छुट्याइएको हो।
प्रदेश सरकारले दोधारा चाँदनी नगरपालिका–२ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि रु १ करोड बजेट विनियोजन गरेको छ। त्यस्तै, दोधारा चाँदनी–८ मा फुटसल स्टेडियम निर्माणका लागि रु ३० लाख ४० हजार छुट्याइएको छ।
बेदकोट नगरपालिका–१ मा गौँडी खेल मैदान निर्माणका लागि रु ३८ लाख तथा शुक्लाफाँटा नगरपालिका–१० मा बाल व्यायामशाला निर्माणका लागि रु ७ लाख ६० हजार बजेट विनियोजन गरिएको छ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार महेन्द्रनगर क्षेत्रमा विभिन्न खेलका पूर्वाधार विकासका लागि पनि बजेट छुट्याइएको छ। जिल्ला ब्याडमिन्टन सङ्घका लागि खेल सामग्री खरिदमा रु ७ लाख ६० हजार, बक्सिङ हल मर्मतसम्भारमा रु ७ लाख ६० हजार, कुस्ती प्रशिक्षण केन्द्रका लागि रु ३ लाख ८० हजार, कबड्डी सङ्घको प्रशिक्षण हल मर्मतसम्भारका लागि रु १५ लाख २० हजार तथा कञ्चनपुर फुटबल सङ्घको भवन निर्माणका लागि रु ५३ लाख २० हजार विनियोजन गरिएको उनले जानकारी दिए।
त्यसैगरी महेन्द्रनगरमा क्रिकेट इन्डोर हल निर्माणका लागि रु १९ लाख, भीमदत्त नगरपालिका–९ स्थित रिडौना खेल मैदान स्तरोन्नतिका लागि रु ७ लाख ६० हजार तथा खेलमैदानको पर्खाल निर्माणका लागि रु ११ लाख ४० हजार बजेट छुट्याइएको छ।
भीमदत्त नगरपालिका–३ मा कराते तालिम हल निर्माणका लागि रु २२ लाख ८० हजार, बेदकोट नगरपालिका–१० चतहरीमा अधुरो रहेको ब्याडमिन्टन हल निर्माणका लागि रु १९ लाख, कृष्णपुर नगरपालिका–५ स्थित पुरानो पञ्चायत खेल मैदानका लागि रु १९ लाख तथा सयपत्री खेलमैदान स्तरोन्नतिका लागि रु १९ लाख विनियोजन गरिएको छ।
दोधारा चाँदनी–७ मा खुला व्यायामशाला निर्माणका लागि रु ७ लाख, चाँदनी क्रिकेट मैदान निर्माण तथा खेल सामग्री खरिदका लागि रु ११ लाख ४० हजार, बेलौरी खुला व्यायामशालाका लागि सामग्री खरिदमा रु ७ लाख ६० हजार तथा कृष्णपुर–८ स्थित राजघाट क्रिकेट मैदान स्तरोन्नतिका लागि रु ११ लाख ४० हजार बजेट विनियोजन गरिएको जिल्ला खेलकुद समितिले जनाएको छ।
यता, महेन्द्रनगरस्थित कवर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि रु ३ करोड बजेट विनियोजन गरेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए।
हाल कवर्डहल परिसरमा बक्सिङ हल मर्मत, हक्की मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान तथा कुस्ती सङ्घको हल निर्माण कार्य जारी रहेको छ। यस क्षेत्रमै ४०० मिटर एथ्लेटिक्स ट्र्याक निर्माणको तयारीसमेत अगाडि बढाइएको जनाइएको छ।
जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले निर्माणाधीन बहुउद्देश्यीय कवर्डहलका लागि पनि प्रदेश सरकारले रु १ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिँदै बजेट कार्यान्वयनमा सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले खेलकुद पूर्वाधार निर्माणले कञ्चनपुरमा खेल गतिविधि विस्तार र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।