नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ऋण सहायता
काठमाडौं — नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप ऋण सहायता उपलब्ध गराउने भएको छ।
जापानले करिब ५ अर्ब ५० करोड रुपैयाँ (५ अर्ब ७० करोड जापानी येन) बराबरको ऋण सहायता उपलब्ध गराउने भएको हो। यस सम्बन्धी समझदारीपत्रमा बुधबार नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरेका छन्।
जापानी दूतावासका अनुसार थप सहायता स्वीकृत भएसँगै उक्त आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ। यसअघि सन् २०१६ मा १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहायता प्रदान गरिएको थियो।
निर्माण कार्यमा ढिलाइ, लागत वृद्धि तथा प्राविधिक कारणले बजेट बढेपछि थप सहयोग आवश्यक परेको जनाइएको छ।
सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सञ्चालनमा आएपछि नागढुंगा–धादिङ यात्रा करिब ७ मिनेटमै पूरा गर्न सकिने अपेक्षा गरिएको छ।