नेपालको अर्थतन्त्र ६६ खर्ब रुपैयाँ नाघ्यो, बागमतीको योगदान सबैभन्दा बढी
काठमाडौं, १३ जेठ — चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ नाघेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशको कुल गार्हस्थ्य उत्पादन (GDP) ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ।
बुधबार प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रदेशगत रूपमा बागमती प्रदेश ले सबैभन्दा बढी आर्थिक योगदान गरेको जानकारी दिए। सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत रहेको छ।
त्यसैगरी कर्णाली प्रदेश को योगदान सबैभन्दा कम ४.२ प्रतिशत रहेको उल्लेख गरिएको छ।
आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र अझै पनि उपभोगमुखी रहेको देखाएको छ। कुल गार्हस्थ्य उत्पादनमा उपभोगको हिस्सा ९०.३ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ भने प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुगेको छ।
त्यसैगरी प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने प्रक्षेपण सरकारले गरेको छ।