देशभरका अस्पतालमा ३ हजार २६४ निःशुल्क बेड छुट्याइयो
विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरका सरकारी तथा निजी अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत बेड निःशुल्क उपचारका लागि छुट्याएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको अनलाइन प्रणालीमा सार्वजनिक विवरणअनुसार देशभरका अस्पतालमा रहेका १८ हजार ४२४ बेडमध्ये ३ हजार २६४ बेड निःशुल्क उपचारका लागि छुट्याइएको हो। तीमध्ये हाल १३५ बेड प्रयोगमा रहेका छन् भने ३ हजार १२९ बेड उपलब्ध अवस्थामा रहेका छन्।
नेपालको संविधान २०७२ को धारा ३५ अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरिएको छ। सोही व्यवस्थाअनुसार सरकारले विपन्न, असहाय तथा लक्षित वर्गका नागरिकलाई उपचार पहुँच सुनिश्चित गर्न निजी अस्पतालमा समेत १० प्रतिशत निःशुल्क बेड अनिवार्य गरेको हो।
सरकारले प्रणालीलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउन अनलाइन अनुगमन व्यवस्था लागू गरेको जनाएको छ। उक्त प्रणालीमार्फत प्रदेश, जिल्ला र अस्पतालअनुसार निःशुल्क बेडको अवस्थाबारे जानकारी लिन सकिनेछ।