नेप्सेमा भारी गिरावट, ७४.७३ अंकले घट्दै २७७६ मा झर्यो
काठमाडौं — बुधबार सेयर बजारमा तीव्र गिरावट देखिएको छ। NEPSE परिसूचक ७४.७३ अंकले घट्दै २७७६ बिन्दुमा झरेको हो। बजार खुलेदेखि नै दिनभरि रातो अंकमा कारोबार भएको थियो।
यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंकले घटेको बजार मंगलबार सामान्य १९.७ अंकले सुधारिएको थियो। तर, आज फेरि उच्च गिरावट देखिएको हो।
गिरावटका बीच कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। आज कुल १३ कम्पनीको मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।
समूहगत सूचकतर्फ सबै समूहमा गिरावट देखिएको छ। ‘अन्य’ समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ, जसमा नेपाल पुनर्बीमा कम्पनी को मूल्य ९.८४ प्रतिशतले घट्दा ठूलो प्रभाव परेको छ।
अन्य समूहगत गिरावटमा बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन्।
यता, हालै सूचीकृत भएका ६ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।