एफएनसीसीआई निर्वाचन: सागर ढकालको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनका लागि सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
स्टक ब्रोकर एसोसिएसन को कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो। एसोसिएसनले ढकालको उम्मेदवारीलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
उम्मेदवारी घोषणा गर्दै ढकालले नेपालको पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार हाल पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन् भने कुल मार्केट क्याप करिब ५० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।
“पुँजी बजारलाई केवल लगानीको क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्नुपर्छ,” ढकालले भने, “लगानीकर्ता र बजारको समग्र हितका लागि मैले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ।”
करिब दुई वर्षदेखि पुँजी बजारमा सक्रिय ढकाल जलविद्युत, होटल तथा पर्यटन, र कृषि क्षेत्रमा समेत आबद्ध छन्। उनले महासंघको केन्द्रीय कार्यसमितिमा पुगेपछि उद्योगी–व्यवसायीका समस्याको समाधानका लागि सरकारसँग नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
ढकालले वर्तमान समयमा पुँजी बजारसहित समग्र व्यवसायिक क्षेत्र समस्याग्रस्त रहेको उल्लेख गर्दै सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए। “अब बन्ने नयाँ सरकारसँग व्यवसायीका माग सम्बोधन गराउन सक्रिय भूमिका खेल्नेछु,” उनले भने।
आगामी निर्वाचनमा ढकालको उम्मेदवारीलाई पुँजी बजारसँग सम्बन्धित क्षेत्रबाट महत्त्वपूर्ण रूपमा हेरिएको छ।