चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयात वृद्धि, १ खर्ब २३ अर्ब ६७ करोड नाघ्यो
काठमाडौं, चैत २५ — चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले उल्लेख्य मात्रामा पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा इन्धन आयातमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। आयात वृद्धि सँगसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ। पेट्रोलियम पदार्थको आयातबाट मात्रै ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
विवरण अनुसार, सात महिनामा ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ, जुन कुल आयातको सबैभन्दा ठूलो हिस्सा हो। त्यस्तै, २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ।
यसैगरी, २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास पनि आयात गरिएको तथ्यांकमा उल्लेख छ।
इन्धनको बढ्दो आयातले मुलुकको व्यापार घाटामा थप दबाब पर्ने देखिएको छ भने राजस्व संकलनमा भने सकारात्मक योगदान पुगेको छ।