ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध लागू
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।
मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ को सचिवालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारिरहेको नकारात्मक असरलाई न्यूनीकरण गर्न तथा वातावरणमैत्री वैकल्पिक सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न यो कदम चालिएको हो।
मन्त्रालयले यस निर्णयले अन्य सरकारी निकाय र सरोकारवाला पक्षहरूलाई पनि सकारात्मक सन्देश दिने विश्वास लिएको छ।
मन्त्री श्रेष्ठले आगामी दिनमा प्रतिबन्धको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक रहने बताएका छन्।