बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध, यातायात अझै प्रभावित
बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक हिलो र चिप्लो भएपछि सवारी सेवा प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो र दाउन्ने पहाडबाट बग्ने लेदो माटोले यातायातमा समस्या सिर्जना गरिरहेको छ। विशेषगरी घिउखोला र विश्वकर्मा मन्दिर आसपास सडक उकालोमा चिप्लिने हुँदा सवारीसाधन बीच बाटोमै फसिरहेको छ।
उनले भने, “पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालो चढ्न नसकेर अवरुद्ध छन्, भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी केही मात्रामा सञ्चालनमा छन्।”
तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू अलपत्र परेका छन्। लामो दूरीका यात्रुवाहक र मालवाहक सवारी रोकिँदा गन्तव्यमा ढिलाइ भइरहेको छ। नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा पनि अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
अवरोध हटाउन मर्मत तथा सुधारको काम भइरहेको छ। नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाएको छ भने साना र आकस्मिक सवारीसाधनसमेत प्रभावित छन्।