तीन दिनको गिरावटपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
काठमाडौं, ११ फागुन – लगातार तीन दिनसम्म घटेको सेयर बजार सोमबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंकले बढेर २६१६ अंकमा कायम भएको छ। यसअघि आइतबार नेप्से २७.५९ अंकले घटेको थियो।
सोमबार कारोबार रकम घटेर ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो।
समग्र बजार बढे पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। १४० कम्पनीको मूल्य घट्दा ११३ कम्पनीको बढ्यो भने ९ कम्पनी स्थिर रहे। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य समूह बढेका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह घटेका छन्।
साल्पा विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, सपोर्ट माइक्रोफाइनान्स, नेपाल एसबीआई बैंक र हिमस्टार ऊर्जा कम्पनीका सेयर पनि उल्लेख्य रूपमा बढे।
मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, एसवाई प्यानल, सीईडीबी होल्डिङ्स र ङादी ग्रुप अग्रस्थानमा रहे।