नेप्सेमा दोहोरो अंकको गिरावट कायमै, सोमबार २६ अंकले झर्यो
२६ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ। आइतबार १०.२४ अंकले घटेको नेप्से सोमबार थप २६.०५ अंकले घटेको हो।
आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। निर्वाचनको समयमा सेयर बजारमा लगानी बढ्ने अपेक्षा गरिए पनि चुनाव नजिकिँदै जाँदा बजारमा देखिएको निराशाले आम लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ।
सोमबार कारोबार सुरु भएदेखि नै नेप्से सूचक निरन्तर ओरालो लागेको थियो। यद्यपि, कारोबारको अन्तिम समयमा गिरावटको गति केही कम भएको थियो। कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक कारोबार बन्द हुँदा २६७२.३९ अंकमा झरेको छ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। यस दिन २१२ कम्पनीको सेयर मूल्य घट्दा ४६ कम्पनीको सेयर मूल्य बढेको छ। खानीखोला हाइड्रोपावर र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन।
समूहगत परिसूचकतर्फ पनि अधिकांश समूहमा गिरावट देखिएको छ। बैंकिङ समूह १०.६ अंकले घट्दा विकास बैंक समूह ७९.०७ र वित्त समूह ५८.१३ अंकले घटेका छन्।
त्यस्तै होटल तथा पर्यटन समूह १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंकले घटेका छन्। व्यापार समूह भने ९.०१ अंकले बढेको छ।
कारोबार रकमतर्फ सोमबार नेप्सेमा ३२४ कम्पनीको १ लाख २ हजार २८१ कारोबारबाट २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ।
यो कारोबार रकम आइतबारको तुलनामा केही कम हो। आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।