ग्यास अभाव बढेपछि नेपाल आयल निगमद्वारा टेकुबाटै बिक्री वितरण सुरु
काठमाडौँ — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढ्न थालेपछि नेपाल आयल निगमले सर्वसाधारण उपभोक्ताका लागि टेकुस्थित आफ्नो कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ।
डिलरहरूमा ग्यास उपलब्ध नभएको भन्दै उपभोक्ताहरूले व्यापक गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा विशेष काउन्टर स्थापना गरी ग्यास बिक्री वितरण सुरु गरेको जनाएको छ।
निगमका अनुसार बजारमा विशेषगरी अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकु कार्यालयबाट ग्यास लिन सक्नेछन्। ग्यास बिक्री वितरण बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने जानकारी निगमले दिएको छ।
निगमले उपभोक्तालाई अनावश्यक भीड नगर्न र आफ्नो सम्बन्धित कम्पनीको सिलिन्डर लिएर मात्रै आउन अनुरोध गरेको छ। साथै बजारमा आपूर्ति सहज बनाउन आवश्यक समन्वय भइरहेको पनि निगमले जनाएको छ।
---