राष्ट्रिय आर्थिक गणना–२०८२ सफल बनाउन उद्योग परिसङ्घको सहयोग
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल तथा उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सहभागी हुने भएको छ ।
राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्यका विषयमा आज काठमाडौँमा आयोजित अन्तरक्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी–व्यवसायीका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म आर्थिक गणना सञ्चालन हुने जानकारी दिँदै हाल त्यसका लागि आवश्यक तयारीका कामहरू अघि बढिरहेको बताए । उनका अनुसार आगामी चैत १ गतेदेखि ७७ जिल्लामा ८४ वटा कार्यालय स्थापना गरी स्थलगत रूपमा काम सुरु गरिनेछ । उक्त गणनामा तीन हजार ९०० गणक र ५०० सुपरीवेक्षक प्रत्यक्ष रूपमा संलग्न हुनेछन् ।
तथ्याङ्क कार्यालयले मुलुकको समग्र आर्थिक परिदृश्य झल्काउने यस आर्थिक गणनालाई सार्थक र परिणाममुखी बनाउन नेपाल उद्योग परिसङ्घसहित विभिन्न व्यावसायिक सङ्घसंस्थाबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ ।
तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत नियमानुसार दर्ता नभई सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पहिचान गर्ने उद्देश्य रहेको बताए ।
यसअघि २०७५ सालमा मुलुकमा पहिलो आर्थिक गणना गरिएको थियो । परिसङ्घका कार्यकारी महानिर्देशक डा. घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैबीच सरकारले ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ का लागि तथ्याङ्क सङ्कलन गर्ने आदेश–२०८२ स्वीकृत गर्ने निर्णय आजै सार्वजनिक गरेको छ ।