नेप्से ८.१६ अंकले घट्यो, कारोबार ७ अर्ब ९४ करोड रुपैयाँ
काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ। आइतबार सार्वजनिक बिदा भएका कारण साताको पहिलो कारोबार दिन सोमबार खुलेको बजारमा गिरावट देखिएको हो।
आज दिनभरमा ३३५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँ बराबरमा कारोबार भएका छन्। कुल १६३ कम्पनीको सेयर मूल्य घट्दा ८६ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनी आजदेखि आईपीओपछि पहिलो पटक कारोबारमा आएका हुन्। साथै अपर स्याङे हाइड्रो र गणपति लघुवित्तका लगानीकर्ताले क्रमशः ८.१८ र ५.९६ प्रतिशत नाफा कमाएका छन्।
उता, खानीखोला हाइड्रोपावर ८.१८ प्रतिशत गिरावटसहित आज सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ।
समूहतर्फ हेर्दा फाइनान्स, होटल र उत्पादनमूलक बाहेक सबै समूहमा गिरावट आएको छ। हाइड्रो समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रुरु जलविद्युत परियोजना शीर्ष स्थानमा रहँदै ६५ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यसपछि आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख र ङादी ग्रुप पावरको ४८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।