नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनायो
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ र १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ कायम गरिएको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। यसरी एकै दिनमा सुनको मूल्यमा तोलामा ५ हजार २ सय रुपैयाँको वृद्धि भएको हो। यो मूल्य हालसम्मकै उच्च दर हो।
सुनको मूल्य वृद्धिको कारणको रुपमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव र भू–राजनीतिक अस्थिरतालाई औंल्याइएको छ।
साथै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ र १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।