कांग्रेसको १५ औं महाधिवेशनमा खड्का सभापति बन्ने सम्भावना बलियो
काठमाडौं, २ पुस — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना बलियो बनेको छ। पार्टीका स्रोतहरूका अनुसार सभापति शेरबहादुर देउवाले खड्कालाई समर्थन गर्ने स्पष्ट संकेत दिएका छन्।
कांग्रेस नेताहरूको विश्लेषणअनुसार खड्कासँग दुई विकल्प थिए: पहिलो, सभापति देउवाको समर्थन लिएर महाधिवेशनमा उम्मेदवारी दिने; दोस्रो, आफ्नै बलबुतामा नयाँ समीकरण बनाएर प्रतिस्पर्धा गर्ने। पछिल्लो समय देउवाले खड्कालाई समर्थन गर्ने भएपछि पहिलो विकल्पको आधार बलियो बन्दै गएको छ।
खड्काका समर्थकले सामाजिक सञ्जालमार्फत पनि प्रचार सुरु गरिसकेका छन्। “सुझबुझ र निष्ठासहितको नेतृत्वको आधार, साझा र एकताका निष्कलंक सूत्रधार — अबको सभापति पूर्णबहादुर खड्का” भन्ने नारा तय गरिएको छ।
पार्टी भित्रको संस्थापन पक्षका नेताहरूले खड्कालाई सभापतिको सर्वस्वीकृत उम्मेदवारको रूपमा अघि बढाउन काम गरिरहेका छन्। खड्का देउवाका विश्वासपात्र हुन् र विगतमा पनि कांग्रेस विभाजन र जटिल परिस्थितिमा पार्टीलाई साथ दिँदै आएका थिए।
विश्लेषकहरूका अनुसार पूर्वपदाधिकारीहरूको केही समूह खड्काप्रति सकरात्मक नभए पनि पार्टी परम्परामा कार्यवाहक सभापतिले सभापति बन्ने इतिहास छ। यसअघि कृष्णप्रसाद भट्टराई र शुसिल कोइराला पनि कार्यवाहक भएर सभापति बनेका थिए।
खड्काले सत्तामा हुँदा गृह, रक्षा र सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेको भए पनि कुनै अनियमिततामा मुछिएका छैनन्। उनले पार्टीभित्र गुट निर्माण नगरी सबै पक्षसँग समन्वय गर्दै आएका कारण उनको सबल पक्षको रूपमा नेताहरूले मूल्याङ्कन गरेका छन्।
कांग्रेसको आगामी महाधिवेशनले खड्काको सभापतिमा निर्वाचित हुने प्रक्रियालाई निर्णायक बनाउने विश्वास नेताहरू व्यक्त गर्दै आएका छन्।