रातामकैको अग्रसरतामा पुनर्निर्मित प्रहरी वृत्त सातदोबाटोको भवन हस्तान्तरण
काठमाडौं — हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनर्निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ।
२३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको उक्त भवन स्थानीय समुदायको आर्थिक तथा भौतिक सहयोगमा पुनर्निर्माण गरिएको हो। करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन कलाकार केसीको नेतृत्वमा निर्माण गरिएको हो।
आइतबार बिहान आयोजित हस्तान्तरण समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्य रहेको थियो। समारोहमा कलाकार किरण केसीले समितिका सदस्यहरूको उपस्थितिमा नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरे।
जेनजी आन्दोलनअघिको प्रहरी वृत्तको भवन पनि कलाकार केसीकै पहलमा निर्माण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैभन्दा प्रमुख विषय भएको उल्लेख गर्दै सुरक्षाका काममा नागरिकको सहयोग अपरिहार्य रहेको बताए। उनले भवन पुनर्निर्माणमा योगदान पुर्याउने कलाकार केसी र स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गरे।
महजोडीका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि यो सामाजिक कार्यका लागि किरण केसीको प्रशंसा गर्दै कलाकारको दायित्व मनोरञ्जनमा मात्र सीमित नभई देश र समाजप्रति पनि हुनुपर्ने धारणा राखे। सो अवसरमा भवन पुनर्निर्माणमा सहयोग पुर्याउने दाता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो।