ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा महान्यायाधीवक्ता सबिता भण्डारी बराल निलम्बित
काठमाडौँ, २८ मंसिर — ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ।
संस्थाका अनुसार बराल सार्वजनिक पदमा नियुक्त भएपछि र त्यससँग सम्बन्धित केही निर्णय तथा विवादहरू सार्वजनिक रूपमा उठेपछि कार्यसमितिले निलम्बनको निर्णय गरेको हो। टीआई नेपालका एक कार्यसमिति सदस्यले संस्थाको आफ्नै मूल्य–मान्यता र विश्वास रहेको उल्लेख गर्दै सार्वजनिक रूपमा संस्थामाथि प्रश्न उठ्ने अवस्था आएपछि सम्बोधन आवश्यक ठानिएको बताए।
“हामीले विवाद सुरु भएदेखि नै उहाँलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएका थियौँ, तर उहाँले अस्वीकार गर्नुभयो,” ती सदस्यले भने। उनका अनुसार विषयवस्तु स्पष्ट पारिएमा निलम्बनको निर्णयबारे पुनर्विचार हुनसक्ने पनि जनाइएको छ।
कार्यसमितिका अनुसार बराल सार्वजनिक पदमा पुगेपछि उनले गर्नुपर्ने निर्णयहरूबारे सार्वजनिक वृत्तमा प्रश्न उठ्न थालेपछि संस्थाले अस्थायी रूपमा निलम्बनको निर्णय लिएको हो।
विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन र भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। बरिष्ठ अधिवक्ता समेत रहेकी सबिता भण्डारी बराल टीआई नेपालको साधारण सदस्य हुन्। उनी यसअघि पटक–पटक संस्थाको कार्यसमितिमा पनि निर्वाचित भइसकेकी थिइन्।