सर्वपक्षीय बैठकमा दलहरूले सरकारलाई निर्वाचनमा केन्द्रित हुन सुझाए
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सम्पन्न सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरूले सरकारलाई आगामी निर्वाचनको वातावरण निर्माणमा मात्र केन्द्रित हुन सुझाव दिएका छन्। दलहरूले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य स्थितिमा फर्काउन निर्वाचन अपरिहार्य भएको र सरकारले चुनावी काममा पूर्ण ध्यान दिनुपर्नेमा जोड दिएका हुन्।
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले दलहरूले सरकारलाई स्पष्ट रूपमा चुनावी सरकार भएकाले अन्य विषयमा ध्यान नदिई निर्वाचनमा केन्द्रित हुन सुझाव दिएको जानकारी दिए। उनले भने, “शान्ति सुरक्षाको वातावरण अझै बलियो बनाउने गरी विशेष रणनीति अपनाउनु आवश्यक छ। प्रधानमन्त्रीले पनि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न तत्पर रहेको कुरा बैठकमा सुनाउनुभयो।”
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले संविधानको संरक्षण र विधिको शासन स्थापनाका लागि निर्वाचन अपरिहार्य रहेको औँल्याइन्। उनले भने, “घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध भएको छ। बिस्तारै निर्वाचनको वातावरण पनि बन्दै गएको छ।”
बैठकमा सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरकारले प्रधानमन्त्रीसँगै केही मन्त्रीहरू पनि सहभागी थिए। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, “सरकारले निर्वाचनको वातावरण सुनिश्चित गरे सबै दलहरू निर्वाचनमा भाग लिन तयार छन्।”