कांग्रेसले सरकारलाई फागुन २१ निर्वाचन सुरक्षा जिम्मेवारीमा स्पष्ट गर्न भन्यो
काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्पन्न हुनसक्ने कुनै पनि सुरक्षा चुनौतीको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी कांग्रेस प्रतिनिधि गगन थापा र पुष्पा भुसालले निर्वाचनका सम्भावित सुरक्षा खतराहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन्। नेतृ भुसालका अनुसार कांग्रेसले बैठकमा “कुनै प्रकारको सुरक्षा थ्रेट स्वीकार्य छैन” भन्ने स्पष्ट सन्देश दिएको छ।
भुसालले भने, “यदि कुनै सुरक्षा चुनौती देखा पर्छ भने यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। यो सरकारले फागुन २१ गतेको निर्वाचन रोक्ने वा नगराउने विकल्प छैन।” उनले प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार चुनाव सफलतापूर्वक सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको जानकारी दिइन्।
बैठकमा सहभागी सबै दलहरूले निर्वाचनको सुरक्षामा सरकारको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका छन् र चुनावी वातावरण स्वच्छ, निष्पक्ष र भयरहित बनाउने विषयमा एकमत देखिएका छन्।