प्रधानमन्त्री कार्कीको आश्वासन : ‘तोकिएको समयमा नै निर्वाचन, कुनै कसर बाँकी राख्दैनौँ’
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी छन्। शुक्रबार बालुवाटारमा आयोजित बहुपक्षीय छलफलमा उनले अन्तरिम कालको व्यवस्थापनका लागि गठन भएको सरकारले कर्तव्यपालनमा कुनै कमी हुन नदिने उल्लेख गर्दै सबै पक्षलाई सकारात्मक सहयोगका लागि आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार सरकारले जेनजीदेखि राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजसँग निरन्तर संवाद गर्दै आएको र यसले आशंका हटाउँदै चुनावी वातावरण सबल बनाएको छ। अब ‘चुनाव हुन्छ कि हुँदैन’भन्दा ‘चुनाव कसरी सफल पार्ने’मा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताइन्। जेनजी आन्दोलनपछि पनि अवस्था बदलिएको उल्लेख गर्दै उनले राज्यले आवश्यक राजनीतिक शिक्षा र वातावरण प्रदान गर्न तयार रहेको भनिन्।
छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले सुरक्षा तथा अन्य तयारीका एजेन्डामा विस्तृत छलफल भएको जानकारी दिए। दलहरू निर्वाचनमा जान तयार रहेको अवस्थामा अनावश्यक शंका नगर्न उनले आग्रह गरे।
छलफलमा सहभागी दलका प्रतिनिधिहरूले भने भयरहित वातावरण निर्माणमा सरकार अझै सक्रिय हुनुपर्ने माग राखे। कांग्रेस नेतृ पुष्पा भुसालले कुनै पनि प्रकारको धम्की स्वीकार्य नहुने बताउँदै सरकारलाई सुरक्षित चुनावको जिम्मेवारी कडाइका साथ निभाउन आग्रह गरिन्। नेकपाका नेता प्रकाश ज्वालाले वर्तमान सरकार चुनावी भएकाले पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुन सुझाव दिए। रास्वपा नेता शिशिर खनालले पनि आफ्नो पार्टी निर्वाचन सफल पार्न सहयोग गर्न तयार रहेको बताए।
गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले आवश्यक तयारी पूरा गरिसकेको र अहिलेसम्म उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिए।