एमाले उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई प्यानलमा समावेश
काठमाडौं, १६ पुस – नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो प्यानलमा समावेश गरेको छ।
ओली समूहका एक शीर्ष नेताका अनुसार, उपमहासचिव प्रदिप ज्ञवाली उपाध्यक्ष पदमा नजाने भएपछि उनको स्थानमा पन्तलाई अघि सारिएको हो। पन्तले यसअघि स्वतन्त्र रूपमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका थिए।
त्यस नेताका अनुसार, “भीम आचार्यभन्दा रघुजी पन्त उपयुक्त हुने निष्कर्षमा पुग्यौं। भूगोलगत सन्तुलनका हिसाबले पनि उहाँलाई समेटिएको हो। अध्यक्ष केपी शर्मा ओलीले पन्त हाम्रो टिमकै मान्छे हो भनेर फोनमार्फत स्पष्ट गर्नुभएको छ।”
रघुजी पन्तसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।