एमाले महाधिवेशनमा साढे तीन सय मत खस्यो, नतिजा मध्यरातसम्म आउने अनुमान
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा बिहान साढे ११ बजेसम्म साढे तीन सय मत खसेको छ। निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान बुधबार बिहान ९:२० बजेदेखि भृकुटीमण्डपमा सुरु भएको हो।
एमालेका कुल २ हजार २६३ प्रतिनिधि रहेकाले मतदान सम्पन्न भई नतिजा आउन मध्यरातसम्म लाग्ने अनुमान गरिएको छ। मतदानको सुरुवात अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै गरेका थिए।
नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ प्रणाली प्रयोग गरिएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि ८० वटा मेसिन प्रयोगमा ल्याइएको छ। प्रतिनिधिहरु पालैपालो मतदान गरिरहेका छन् भने उम्मेदवारहरु लाइनमा पुगेर मत मागिरहेका छन्।