जसपाले प्रतिनिधिसभा उम्मेदवार छनोटका लागि मातहत समितिमा सर्कुलर जारी
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस प्रक्रिया अगाडि बढाएको छ। पार्टीले मातहत समितिहरूमा सर्कुलर जारी गर्दै पुस १० गतेभित्र जिल्ला समितिमा, पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ।
पार्टी प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, प्रदेश समितिले पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म सम्भावित उम्मेदवारको नामावली तयार गरी संघीय संसदीय बोर्डमा पठाउनुपर्ने छ।
समानुपातिकतर्फ, प्रत्येक जिल्लाबाट कम्तीमा तीन पुरुष र तीन महिला उम्मेदवार जातीय कलस्टरअनुसार समावेश हुने गरी पुस १ गतेभित्र प्रदेश समितिमा पठाइनेछ। प्रदेश समितिले छलफल गरी आफ्नो रायसहित पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा अन्तिम नामावली बुझाउनेछ।
बस्नेतका अनुसार, तोकिएको समयभित्र उम्मेदवारको नाम पठाउन नसकेमा संसदीय बोर्डले स्वतः निर्णय गरी कार्यान्वयन गर्न सक्नेछ। पार्टी विधानअनुसार योग्यता पूरा गरेका सदस्यले सीधै केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा उम्मेदवार हुन आवेदन दिन सक्ने व्यवस्था पनि छ।
संघीय संसदीय बोर्डले अन्तिम निर्णय गर्नेछ र उम्मेदवार छनोट प्रक्रियामा जिल्लास्तरदेखि केन्द्रसम्म सबै निर्णय बैठकको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।