कांग्रेस र एमालेले सभामुखमा दाबी गरेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुवैले दाबी गरेपछि प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।
जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो ।
सभामुख पदमा सत्तारुढ दुवै दलको दाबीका कारण पछिल्लो चार महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचना नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।
उनका अनुसार बैठकका सबै तयारी पूरा भए पनि सरकारबाट सूचना नआएकाले बैठक आह्वान हुन सकेको छैन । गत कात्तिकको दोस्रो साता बैठक बोलाउने तयारी गर्दै मुख्यमन्त्री सभाहल मर्मत सम्भार समेत गरिएको थियो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मङ्सिर ३ गतेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए । सभामुख चयन गर्न बैठक बसेको १५ दिनभित्र अनिवार्य व्यवस्था भएकाले सहमति नजुटेसम्म बैठक नबोलाउने रणनीति सरकारको हुन सक्ने सचिव पौडेलको अनुमान छ ।
सभामुख पदमा कांग्रेस र एमाले दुवैले दाबी गरिरहेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले मुख्यमन्त्री कांग्रेसले पाएपछि सभामुख एमालेले पाउनुपर्ने धारणा राखे । यता कांग्रेसका मुख्य सचेतक पुकार महर्जनले केही महिनापछि मुख्यमन्त्री एमालेले पाउने भएकाले सभामुख कांग्रेसलाई दिनुपर्ने अडान रहेको बताए । सत्तारुढ दलहरूबीच छलफल जारी रहेकाले छिट्टै सहमति भई प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको बताइएको छ ।