रवि–बालेन सहमतिपछि सेयर बजारमा उत्साह, नेप्से करिब २ प्रतिशतले उक्लियो
१३ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर लगानीकर्ता उत्साहित भएका छन्। राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रले निराश बनेका लगानीकर्ता नयाँ राजनीतिक सहमतिपछि आशावादी देखिएका हुन्।
रवि लामिछाने पार्टी अध्यक्ष र बालेन साहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमतिपछि राजनीतिक वातावरण सकारात्मक दिशातर्फ मोडिएको विश्लेषण गरिएको छ। यसकै प्रभावस्वरूप आइतबार सेयर बजार परिसूचक नेप्से करिब २ प्रतिशतले बढेको छ।
आइतबार कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ अंकमा पुगेको छ। बजारसँगै कारोबार रकम पनि बढेर ५ अर्ब ५३ करोड रुपैयाँ नाघेको छ।
कारोबारमा सहभागी ३२८ कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको छ। मिडिल सोलु हाइड्रोपावरको सेयर मूल्य ९.४९ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ।
विश्लेषकहरूका अनुसार राजनीतिक सहमतिपछि देखिएको बजारको सुधारले आगामी दिनमा पनि सेयर बजार सकारात्मक रहन सक्ने संकेत गरेको छ।