एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक अहिले केहीबेरमा बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिपोर्टिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितिका तर्फबाट पनि सुझाव दिइने छ ।’ मूल समितिको संयोजक महासचिव शंकर पोखरेल रहेका छन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका छन् ।
आज १४ वटै समितिका संयोजकहरूले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपका विषयमा पनि जानकारी गराइने छ ।