कांग्रेस क्रियाशील सदस्यता फारम २४ घण्टाभित्र जिल्लामा पठाइने
काठमाडौं, १ पुस — नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम २४ घण्टाभित्र जिल्ला–जिल्लामा पठाउने निर्णय गरेको छ।
मंगलबार बसेको समितिको बैठकले विवाद समाधानका लागि क्रमसंख्यासहितका फारम मात्र जिल्लामा पठाउने निर्णय गरेको हो। समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिँदै यसअघि क्रमसंख्या नभएका फारम पठाइएको विषयमा विवाद उत्पन्न भएपछि निर्णय गरिएको बताए।
‘आज समितिको बैठक बस्यौँ। क्रमसंख्या नभएका फारम जिल्लामा पठाइएको भन्दै विवाद भएपछि त्यसबारे निर्णय गर्यौँ,’ रसाइलीले भने, ‘विवाद समाधानका लागि क्रमसंख्या भएको फारम जिल्लामा पठाउने निर्णय गरिएको हो। सोहीअनुसार आज बिहानै प्रेसमा फारम पठाइसकेका छौँ र २४ घण्टाभित्र जिल्लामा पठाइनेछ।’
उनका अनुसार समितिले पार्टीको निर्वाचन समितिका संयोजक खम्ब खातीसँग पनि छलफल गरेको छ। छलफलमा विदेशस्थित जनसम्पर्क समितिको सदस्यता फारम अनलाइनमार्फत भर्न पुस ५ गतेसम्म खुला गर्ने विषयमा केन्द्रित थियो।
यसैबीच, समितिकी सदस्य सीता गुरुङले पनि नयाँ फारमहरू छपाएर जिल्लामा पठाउने निर्णय भएको जानकारी दिएकी छन्।