पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन, लक्ष्यभन्दा पछाडि
काठमाडौं, १ पुस।सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको भए पनि लक्ष्यको ७८.७४ प्रतिशत मात्रै संकलन भएको हो।
मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८० अर्ब २७ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो।
सरकारले चालु आर्थिक वर्षभरि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
गत आर्थिक वर्षको यही अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। समीक्षा अवधिमा राजस्व संकलन करिब ४ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनामा लक्ष्यको ८१.९ प्रतिशत राजस्व संकलन भएको थियो।