सम्झौताअनुसार काम नगर्ने ५ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले असोज १७ गते सूचना जारी गर्दै असोज १६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो ।
विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कारबाहीमा परेका उनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
कालोसूचीमा पर्नेमा तिलागुफा नगरपालिका, कालिकोटको सिफारिसमा गोर्खबहादुर वटाला मुख्य व्यक्ति रहेको वटाला निर्माण सेवा, खाँडाचक्र–१, कालिकोट र पूर्वाधार विकास कार्यालय, लमजुङको सिफारिसमा सुरेशबाबु श्रेष्ठ मुख्य व्यक्ति रहेको बुढीगण्डकी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, भिमसेन थापा–५, गोर्खा रहेका छन् । दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, सडक डिभिजन जुम्लाको सिफारिसमा विनम्र निर्माण सेवा, सुर्खेतलाई ३ वर्ष, ध्रुवप्रसाद कँडेल मुख्य व्यक्ति रहेको ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर–३, सुर्खेतलाई २ वर्ष र चण्डिका शाही (मल्ल) मुख्य व्यक्ति रहेको अविनाश निर्माण सेवा, छायानाथ रारा–१, मुगुलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।