निर्वाचनसम्बन्धी कार्यक्रममा बालबालिकाको प्रयोग रोक्नेबारे आयोगको छलफल
काठमाडौं, १ पुस।निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्ने विषयमा छलफल गर्ने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग आयोगले संयुक्त छलफल गर्न लागेको हो।
मन्त्रीहरूको उपस्थितिमा हुने छलफलमा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने, मतदान केन्द्रहरूलाई अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमैत्री बनाउने, निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रवर्द्धन गर्ने तथा मतदाता शिक्षा कार्यान्वयनलगायतका विषयमा विचार–विमर्श गरिने प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।