रुरुक्षेत्रमा सबै स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
रुरुक्षेत्र — रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन भएको छ। वडा नम्बर ३ स्थित थानापति स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएपछि गाउँपालिकाका छ वटै वडाका नागरिकको पहुँचमा ल्याब सेवा पुगेको छ।
ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक-एक ल्याब टेक्निसियनको दरबन्दी थप गरिएको छ। यसले स्थानीयलाई रगत, पिसाब, हर्मोन जस्ता परीक्षणका लागि रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य गरेको छ।
गर्भवती लगायत अन्य बिरामीको रगत परीक्षण, रगत ग्रुपको पहिचान जस्ता सेवाहरू अब सहज रूपमा उपलब्ध भएको गाउँपालिकाले जनाएको छ। यसअघि स्वास्थ्य चौकीबाट खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने र नसर्ने रोगको परीक्षण तथा औषधि उपलब्धता सेवा प्रदान हुँदै आएको थियो।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले भने, “पालिकाभित्रका सबै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने हाम्रो लक्ष्य हो। निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ।” उनले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भइरहेको पनि बताए।