एमाले महाधिवेशनमा मतदानअघि ओली र पोखरेल एकैसाथ देखिए
काठमाडौं, १ पुस — नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिएका छन्।
भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेताहरू सँगै देखिएका हुन्। मतदान सुरु हुनुअघि दुवै नेता गम्भीर मुद्रामा देखिएका थिए।
नयाँ केन्द्रीय कमिटी चयनका लागि ओली र पोखरेल दुवै पक्षले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। ओली पक्षले महासचिवमा शंकर पोखरेललाई अघि सारेको छ भने पोखरेल पक्षबाट सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाइएको छ।
एमालेको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गरिने तयारी गरिएको छ। भृकुटीमण्डपमा निर्माण गरिएका मतदान बुथमा एकपटकमा ८० जना मतदाताले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।
एक जना मतदातालाई विद्युतीय मतदान प्रक्रियामा करिब ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। निर्वाचनमा कुल २ हजार २६३ जना प्रतिनिधि सहभागी हुनेछन्।