एमाले महाधिवेशन: मतदान ढिलो, ओली र पोखरेल प्रतिस्पर्धामा
काठमाडौं, १ पुस– काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो। तर समय धकेलिँदै साँझ ४ बजेदेखि मतदान हुने भनिएको भए पनि अझै सुरु भएको छैन।
प्राविधिक लक्ष्मण रिमालका अनुसार, “नाम तलमाथि परेको कारण मिलाउनु पर्यो। हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ। बिहान १० बजेसम्म कोडिङ सकियो, तर फेरि तलमाथि भएको सच्याउन नयाँ कोडिङ गर्नुपर्यो। बुथ तयार छ, तर राति ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ।”
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवार प्यानलसहित चुनावमा रहेका छन्।