एमालेले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय
काठमाडौं, २६ मंसिर । नेकपा एमालेले आसन्न महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधि मनोनयनको निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार महाधिवेशनमा निर्वाचित तथा पदेन आयोजकका हैसियतले सहभागिता जनाउने प्रतिनिधिहरूको कूल संख्याको ५ प्रतिशतका दरले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय गरिएको हो।
“निर्वाचित र पदेन प्रतिनिधिको कूल संख्याको ५ प्रतिशत बराबर १०८ जना मनोनयन प्रतिनिधिको नामावली सचिवालयले पारित गरेको छ, यो नाम भोलि सार्वजनिक हुनेछ,” उनले भने।
नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको एक नेताले बताएका छन्। मनोनयन सूची भोलि औपचारिक रूपमा सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ।
एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला मनोनयन प्रतिनिधिको सूचीले नेतृत्व चयन प्रक्रियामा थप स्पष्टता ल्याएको मानिएको छ।