उपाध्यक्ष बन्न प्रदीप ज्ञवाली अनिच्छुक, महासचिवमै दाबी कायम
२९ मंसिर, काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि (मंगलबार) निर्वाचन हुँदैछ। यसैबीच महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा व्यक्त गरेका छन्।
अध्यक्ष पदका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले आ–आफ्ना प्यानल तयार गरिरहेका बेला ओली समूहको उपाध्यक्ष पदमा ज्ञवालीको नाम सार्वजनिक भएको थियो। तर, उनले उपाध्यक्ष पद स्वीकार गर्न नचाहेको स्रोतले जनाएको छ।
ज्ञवालीले यसअघि नै अध्यक्ष ओलीसँग महासचिव पदमै आफ्नो दाबी रहेको स्पष्ट पारेका थिए। “महासचिवभन्दा माथि पनि लड्दिनँ, तल पनि लड्दिनँ,” भन्दै उनले आफ्नो अडान राखेको स्रोतको भनाइ छ।
उपाध्यक्ष पदमा नाम राखिएपछि असन्तुष्ट देखिएका ज्ञवाली हाल महाधिवेशनस्थलमा उपस्थित छैनन्। उनी घरमै आराम गरिरहेका छन् र स्थिति नियालिरहेको उनी निकट स्रोतले जनाएको छ।