एमाले ११औँ महाधिवेशनको बन्दसत्र समय फेरि सारियो
काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ। भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।
पहिले बिहानै सुरु गर्ने भनिएको बन्दसत्र अब अपराह्न ३ बजे सुरु हुने भएको हो। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बन्दसत्रको समय ३ बजे सरेको जानकारी दिएका छन्।
बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधानमा संशोधन गर्दै महाधिवेशनको केही निर्णय उल्टाएको छ। बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरेको जनाइएको छ।