बागमती प्रदेशको पुँजीगत खर्च ५ महिनामा ४.४७ प्रतिशत मात्रै
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा जम्मा ४.४७ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सो अवधिमा चालुतर्फ भने १८.४१ प्रतिशत बजेट खर्च भएको छ।
चालु आवका लागि प्रदेशले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको थियो। विनियोजित बजेटमध्ये सबैभन्दा बढी खर्च प्रदेश लोकसेवा आयोगले २९.९० प्रतिशत गरेको छ भने प्रदेशसभा सचिवालयले २७ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत खर्च गरेका छन्।
यस्तै स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेका छन्। सबैभन्दा कम खर्च संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत मात्रै गरेको छ।