एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ सर्वाधिक मतसहित विजयी
नेकपा एमालेको उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ सर्वाधिक १,७३७ लोकप्रिय मत ल्याउँदै विजयी भएका छन्। गुरुङ सबैभन्दा बढी मत प्राप्त गर्ने उपाध्यक्ष बनेका छन्।
केही समयअघि मात्र केपी शर्मा ओली नेतृत्वको प्यानलमा खुलेका गुरुङ एमालेको दशौँ महाधिवेशनमा उपमहासचिव थिए। एघारौँ महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका उनी उच्च मतसहित निर्वाचित भएका हुन्।
उपाध्यक्षमा निर्वाचित अन्य नेताहरूमा विष्णुप्रसाद पौडेलले १,६७५ मत ल्याएका छन्। त्यसैगरी रामबहादुर थापा ‘बादल’ले १,५१६, गोकर्ण बिष्टले १,३६८ र गुरु बरालले १,१३७ मत प्राप्त गरेका छन्।
गुरु बराल यसअघि दशौँ महाधिवेशनपछि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमालेबाट मनोनित उपाध्यक्ष थिए। यसपटक भने उनी ओली प्यानलबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
---