प्रधानमन्त्री बालुवाटारमा सर्वपक्षीय बैठक, चुनाव तयारी र सुरक्षा छलफल सुरु
काठमाडौं, १९ मंसिर – प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सर्वपक्षीय बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको हो र केहीबेर अघि शुरु भएको बताइएको छ।
बैठकमा आगामी निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समग्र वातावरणबारे छलफल भइरहेको छ। बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थित रहेको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका छन्।
विशेषज्ञहरूको दृष्टिले यो बैठक आगामी चुनावलाई व्यवस्थित र सुरक्षित तरिकाले सम्पन्न गराउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।