एमाले महाधिवेशन : प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (EVM) प्रयोग हुने भएकाले प्रतिनिधिलाई नमूना मतदान अभ्यास गराएको छ।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित प्रशिक्षणमा प्रतिनिधिलाई मेसिनमार्फत कसरी मतदान गर्ने भन्ने प्रक्रिया सिकाइएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कार्यालयमा आएका प्रतिनिधिलाई प्रत्यक्ष अभ्यास गराएर EVM प्रयोगको विधि बुझाइयो। “धेरैजसो प्रतिनिधि आफैँले सहजै मतदान गर्न सक्ने अवस्थामा रहेछन्,” उनले बताए।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले आज दुई वटा मेसिनमार्फत अभ्यास गराइएको जानकारी दिए। उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर थप प्रशिक्षण दिइनेछ।
आगामी महाधिवेशनमा करिब २,४०० प्रतिनिधि सहभागी हुने छन्। यसअघि चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा पनि विद्युतीय भोटिङको प्रयोग गरिएको थियो।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ भने बन्दसत्र भृकुटीमण्डपमा सञ्चालन हुने कार्यक्रम छ।