मुख्यमन्त्री कार्कीद्वारा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्न आह्वान
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयासरत रहेको बताएका छन्। ‘भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ विराटनगरमा आज आयोजित भ्रष्टाचारविरुद्धको २५औँ अन्तरराष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उनले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार सबैलाई अभियानमा सक्रिय हुन आह्वान गरे।
मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक र विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा सबैको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिँदै कर्मचारीहरूलाई बजेट कार्यान्वयन, नीतिनिर्माण र अधिकारको न्यायपूर्ण प्रयोगमा इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए। उनले आगामी दुई महिनाभित्र प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहभागितामा कार्यक्रम सञ्चालन गरिने बताए। कार्यक्रममा प्रदेशका सबै मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुख र अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए।